राजनीति

आगामी अधिवेशनहरूमा संघीयता कार्यान्वयनसँग जोडिएका कानुन बनाउँछौँ : सभामुख



काठमाडौँ, २ पौष । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा प्रदेशसभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए ।

‘संघीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने । 
सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्था परिवर्तन गरेको बताउँदै अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए ।

प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित हुन अपिल गरे । संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

‘आधारभूतरुपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बन्नेमा आशावादी बन्न सकिन्छ,’ उनले भने ।