काठमाडौँ, ३ पौष । सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ ।
यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी । उनका अनुसार टमाटर खेतीबाट बर्सेनि रु पाँच लाखसम्म आम्दानी भइरहेको छ ।
कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उनले भने, “धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।”
मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन् । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए । कार्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्