Banner News

ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली



काठमाडौँ, ६ पौष ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् ।

विश्व ध्यान दिवसको अवसरमा आज श्रव्य दृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरे ।  मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरूलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्,  “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।” ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्रीले बर्सेनि यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरे । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ”, उनले भने ।