काठमाडौँ, ६ पौष । साउदी अरबबाट फर्किएका एकजना नेपालीमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरु र प्रयोगशालाहरुबाट निगरानी र सतर्कता बढाइएको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो लक्षण भएमा अस्पताल गएर उचित सल्लाह लिन या मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हालै साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षिय पुरुष खटिराको समस्या लिएर काठमाण्डौको एक निजी अस्पतालमा पुग्दा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गर्दा हिजो एमपक्स पुष्टि भएको हो ।
उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि एमपक्स पुष्टि भएको थियो ।
एमपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ,सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।
प्रतिक्रिया दिनुहोस्