काठमाडौँ, ६ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् ।
आज रुपन्देहीको देवदहमा गौतम बुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।
प्रदेश सरकारले बृहत् लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिङ्गो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए । उनले प्रदेश सरकारले तिलौराकोटदेखि नवलपरासीको रामग्राम सम्मका सम्पदाहरूलाई जोड्ने गरी पर्यटन थप पूर्वाधार निर्माण गर्ने बताए ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नेगरी पर्यटकीय स्थलहरुको विकासको काम अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । पार्कहरूमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्