कञ्चनपुर, ६ पौष । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।
कैलालीको टीकापुर नगरपालिकाको श्रीलंका टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका हुन् ।
चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण संघ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताए । नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ ।
सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । त्यसको १८ वर्षपछि मात्रै यो प्रजातिको सारस देखापरेको थियो । सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तर रूपमा देखापर्दै आएको चराविज्ञ डगौरा बताउँछन् ।
उनका अनुसार समूहमा रहने भएकाले यसलाई सामाजिक पंछीका रूपमा चित्रण गर्ने गरिन्छ । साइवेरियालगायत उत्तरी धु्रवमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्