काठमाडौँ, ९ पौष । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ ।
आज दिउसो कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरू साथै बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो ।
यस्तै सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो । अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्