समाचार

आजको मौसम



काठमाडौँ, १० पौष । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून पर्‍यो । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा हिजो साँझ सामान्य वर्षा भएको थियो । सो प्रणालीको मुख्य असर पश्चिम नेपालमा पर्ने र काठमाडौँ उपत्यकासम्ममा वर्षा गराउने मौसमविद्ले बताएका छन् । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

पश्चिममा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । आजबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।