पाल्पा, १० पौष । सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ दोभानअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग– अन्तर्गत ‘बाइपास २’ को आइतबार ‘ब्रेक थ्रु’ भएको हो । योसँगै तीनवटै बाइपास सुरुङ छिचोलिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइ छ । यसअघि बाइपास तेस्रोको गत २६ भदौ र बाइपास पहिलोको गत ४ असोजमा ‘ब्रेक थ्रु’ भएको उनले बताए । तेस्रो र पहिलो बाइपास १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ । कुनै व्यवधान नआए पुसभित्रै मुख्य सुरुङको पनि ‘ब्रेक थ्रु’ गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।
जसको पछिल्लो विवरणअनुसार ९० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । सुरुङमा लाइनिङको काम अझै सुरु भएको छैन । सुरुङ खन्न एक वर्ष अगाडिदेखि सुरु भएको थियो । यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ ।
यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् । आयोजना स्थलमा मेसिनरी प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विस्फोटका लागि सहजीकरण गरिएको आयोजना प्रमुख अधिकारीले बताए । सिद्धबाबा क्षेत्रको बाहिरी पहाड अड्याउन ‘रकसेड’ प्रविधिबाट दक्षिणमा १ हजार ४ सय ९५ वर्गमिटरको काम भएको छ ।
उत्तरतर्फ ४ सय ९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । सिद्धार्थ राजमार्गको चिडियाखोला–दोभान सडक तिनाउ–३ दोभान क्षेत्रको सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना हुने गरेपछि विकल्पका रूपमा सुरुङ निर्माणको योजना अघि बढेको थियो । योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने आयोजनाले जनाएको छ । राजमार्ग भएर तराईदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास छ । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्