काठमाडौँ, १२ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा २० अर्ब ७७ करोड ७३ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । ३१९ वटा उद्योगमा उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
स्वचालित रुट (अटोमेटिक रुट) बाट १३८ उद्योगमा २ अर्ब १३ करोड १ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै १८१ उद्योगमा १८ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।
रकमका आधारमा लगानी प्रतिबद्धतालाई क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी पर्यटनमा ६२, सेवा क्षेत्रमा २३, उत्पादनमूलकमा ९, सूचना तथा प्रविधिमा ३ र कृषिमा ३ प्रतिशत आएको छ । पर्यटनमा १४५, सेवामूलकमा ४०, उत्पादनमूलकमा २२, पूर्वाधारमूलकमा १ र सूचना तथा प्रविधि क्षेत्रमा १०६ वटा उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो ।
चालु आर्थिक वर्षको चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएकाले पनि प्रतिबद्धताभन्दा भित्रिने रकम न्यून रहेको तथ्यांकले देखाउँछ । विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारी बताउँछन् ।
चालु आर्थिक वर्षको चार महिनामा खुद विदेशी लगानी ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै एफडीआई भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–कात्तिकमा २ अर्ब ७४ करोड ३९ लाख रकम बाहिरिँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । गत आर्थिक वर्षको चार महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्