Banner News

शान्ति प्रक्रिया टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २४ पौष । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताएका छन् ।

आज ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए । 

“टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन,” उनले भने । उनले नेकपा (एमाले)प्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको बताए । “माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ,” प्रचण्डले भने । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ सदनबाट पारित भएपछि टुंगिने विश्वास गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

“माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ,” उनले भने ।