काठमाडौँ, २८ पौष । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेला सरकारले अध्यादेश ल्याउन सक्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले अध्यादेश ल्याउने विषयलाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने जिकिर गरे ।
संविधानको धारा ११४ मा टेकेर सरकारले अध्यादेश ल्याएको उनको भनाइ छ । “नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको छ । सरकारले संसद्को अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउन सक्छ । त्यो चाहिँ पार्लियामेन्टको अधिकारलाई कटौती गरेको होइन,” उनले भने ।
उनले सदनको पहिलो बैठकमै अध्यादेश पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए । कानून बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेका बेला र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको विषयलाई संसद्को अवज्ञा भन्न नहुने उनको भनाइ छ ।
“अहिले सरकारले ल्याएका दुईवटा अध्यादेश छन् । सहकारीपीडित महिनौँदेखि लडिरहनुभएको छ, सडकमा हुनुहुन्छ । कतिले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । अहिलेसम्म कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनुहुन्छ । केही मान्छेले अनियमितता गरे, रकम दुरुपयोग गरे । उहाँहरू सडकमा हुनुहुन्छ । हामीले एक वर्षपछि कानून बनाउँछौँ भनेर क्यान्सरपीडितले त पर्खिएर बस्न सक्दैन होला । त्यस्ता समस्या पर्दछन् भनेर नै संविधानले अध्यादेशको व्यवस्था गरेको होला । संसद्लाई अवज्ञा गरेको भन्ने रूपमा बुझ्ने भन्दा पनि आवश्यकताले ल्याउनुपरेको हो,” ज्ञवालीले भने ।
प्रतिक्रिया दिनुहोस्