काठमाडौँ, २९ पौष । नेपाल स्काउट प्रमुख आयुक्त र कार्यकारी निर्देशकबीचको विवादमा फसेको छ ।
प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले कार्यकारी निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेपछि विवाद सुरु भएको हो । प्रमुख आयुक्त रञ्जितले भट्टराईलाई ३ महिनाका लागि निलम्बन गर्दै स्काउट सदस्य अजित लामालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन् । मनोमानी निर्णय गरेकाले भट्टराईलाई निलम्बन गर्नुपरेको प्रमुख आयुक्त रञ्जितले बताएका छन् । भट्टराईले भने निलम्बनको पत्र नदिइएको र आफ्नो स्थानमा गैरकर्मचारी नियुक्त गरिएको बताएका छन् ।
भट्टराईले सुरक्षा माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेपछि जिल्ला प्रशासन काठमाडौंले स्काउट केन्द्रीय कार्यालय लैनचौरमा शुक्रबारदेखि प्रहरी परिचालन गरेको छ । प्रहरीले कार्यकारी निर्देशकको कार्यकक्ष खाली गराएको छ । आइतबार खेलकुदमन्त्री तथा प्रमुख स्काउट तेजुलाल चौधरीले विवाद समाधान गर्न २४ घण्टाभित्र राष्ट्रिय कार्यकारी समितिको बैठक डाक्न प्रमुख आयुक्तलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्