राजनीति

सिद्धबाबा सुरुङमार्गको माघ ११ मा ‘ब्रेक थ्रु’ हुने



पाल्पा, १ माघ । माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गते हुने भएको छ ।

यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ११ गतेलाई मिलाएर ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम राखिएको हो । सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रूपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।

दक्षिणतर्फ ६ सय ८ र उत्तरतर्फ ४ सय ७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा साढे एक मिटर भागलाई ब्लास्ट गरिनेछ । यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक १ सय ५१, दुई १ सय ६१ र तीन १ सय ३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको उनले बताइन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।