सिन्धुपाल्चोक, १ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गरे । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे सम्भावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताए । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उनले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास गर्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताए ।
उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताए । नेपालको व्यापारिक इतिहासमा महत्त्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिँदै उनले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्