काठमाडौँ, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ ।
प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीसित भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे । त्यसपछि सैफ र ती व्यक्तिबीच हातपात भयो । यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ । अनुसन्धान भइरहेको छ ।”
समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको एएनआईले उल्लेख गरेको छ ।
अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, राति करिब २.३० बजे सैफ अली खान र उनकी पत्नी करीना कपूरको बान्द्रास्थित घरमा एक चोर पसेको थियो । त्यस समयमा सैफ आफ्नो परिवारसँग घरमा थिए ।
घटनास्थलबाट चोर भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उक्त रिपोर्टमा उल्लेख छ । घटनाबारे एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस्