काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् ।
आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’
साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए । ‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’
‘सबै माननीय मन्त्रीज्यूहज्ञबाट आएको कुरा भनेको ७ बुँदे समझदारी अनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो,’ उनले भने, ‘दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ ।’
प्रतिक्रिया दिनुहोस्