अर्थ

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित



काठमाडौँ, ७ माघ । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मूल्य गत वर्षको तुलनामा वृद्धि भएको छ ।

यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । 

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए । यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताए । 

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने  गरिएको छ । व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक र मधेस प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पुर्‍याउने गरेका छन् ।