काठमाडौँ, ९ माघ । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।
कार्यक्रममा टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताए । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको उनको भनाइ छ । विश्वभर हरेक वर्ष तीन लाख ११ हजार महिला महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ । सन् २०३० सम्म त्यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) बाट सङ्क्रमण हुने गरेको उनको भनाइ छ । यो भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उनले बताए । एचपीभी भाइरसबाट पटक पटक सङ्क्रमण भएर २० वर्षसम्म यो सङ्क्रमण रहेको खण्डमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने उनको भनाइ छ ।
सरकारले यो वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप दिन लागिएको बताए । लामो समयदेखिको तयारीपछि विद्यालयमै पुगेर किशोरीहरूलाई खोप दिन लागिएको बताए । त्यसका लागि देशभरका १९ हजार ८०० विद्यालयमा खोप दिन लागिएको बताए । यो खोप सरकारले निःशुल्क रूपमा दिन लागेको बताए । त्यसका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा १७ लाख ७० हजार ४०० मात्रा खोप नेपाल आइपुगेको छ ।










प्रतिक्रिया दिनुहोस्