राजनीति

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण



काठमाडौँ, २१ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गरे । नेपाल पञ्चांग निर्णायक विकास समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सरकारका उच्च अधिकृतका साथै सुरक्षा अंगका प्रमुखहरू पनि सहभागी भए ।