समाचार

सुनसहित विमानस्थलबाट एक महिला पक्राउ



काठमाडौँ, २२ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार लुकाइछिपाइ भन्सार छली गरी ल्याउन लागेको उक्त धातुसहित सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङलाई पक्राउ गरेको हो ।

उनी थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौँ आएकी थिइन् । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट उक्त धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।