राजनीति

१० वटा हिमाली जिल्लामा छात्रावास निर्माण हुन्छ : मन्त्री भट्टराई



काठमाडौँ, २२ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० वटा हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । 

आज पूर्वी रसुवाको नौकुण्ड गाउँपालिकाको फाम्चेतमा गौतमबुद्व माध्यमिक विद्यालयको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनले रसुवामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् ।

ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् ।

सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र त्यो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन् ।