समाचार

३ लाख ५५ हजार किशोरीले लगाए एचपीभी खोप



काठमाडौँ, २४ माघ । देशभर एचपीभी खोप ३ लाख ५५ हजारले लगाएका छन् ।

सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान मार्फत ३ लाख ५५ हजार  किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । 

अभियान  फागुन ६ गतेसम्म जारी रहनेछ । देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ । 

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो ।