राजनीति

कांग्रेस रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने कानुन पास हुँदैन : महामन्त्री थापा



काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा कांग्रेसको नेतृत्व रहुन्जेल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी कुनै पनि कानुन पारित नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा बोल्दै महामन्त्री थापाले कांग्रेस रहँदासम्म नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका विषयमा धेरै चिन्ता लिन नपर्ने पनि बताए ।

उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी अहिलेको संसद्बाट कुनै पनि कानून पारित हुन सक्दैन । कांग्रेस अहिले मुलुकको सबैभन्दा ठूलो दल हो । हामी प्रेस स्वतन्त्रताको कुरामा, लोकतन्त्रको कुरामा, अभिव्यक्ति स्वतन्त्रताको कुरामा, विधिको शासनको पक्षमा स्पष्ट हौँ । यी कुराहरू नेपाली कांग्रेसका आधारभूत मूल्यमान्यताका विषय हुन् । यी विषयबाट कांग्रेस पछि हट्न सक्दैन । कांग्रेस रहँदासम्म चाहे त्यो सत्तामा हुँदा होस् वा विपक्षमा हुँदा होस् । कुनैपनि अवस्थामा यी विषयहरूको बर्खिलाप हुने गरी कानून बन्न सक्दैन, बन्दैन । यसमा सबैले ढुक्क हुनुपर्छ ।’