समाचार

पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने



काठमाडौँ, १२ फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा दिने भएको छ । 

संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीका अनुसार आवासीय सुविधाका लागि सोमबार बिहानदेखि पशुपति क्षेत्रमा आएका साधुसन्तको गणना सुरु गरिने छ ।

महाशिवरात्रिमा यहाँ आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि संस्थानले बस्ने, खाने र धुनी जगाउन दाउराको व्यवस्था गर्ने परम्परा छ । यसरी राखिएकालाई संस्थानले फागुन कृष्ण औँसीका दिन स्तरअनुसार दक्षिणासहित बिदाई गर्ने परम्परा पनि छ । महाशिवरात्रिका लागि मित्रराष्ट्र भारतबाट हजारौँ साधुसन्त आउने गरेका छन् ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तका लागि बस्ने, खाने र धुनी जगाउन दाउरा दिन फागुन कृष्ण एकादशीका दिन राष्ट्राध्यक्षले सङ्कल्प पूजा गर्ने विधि रहेको छ । सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले शितलनिवासमा सङ्कल्प पूजा गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ ।