काठमाडौँ, १३ फागुन । सन् २००५ को फेब्रुअरी १४ मा स्थापना भएको सामाजिक सञ्जाल युट्युब २० वर्ष भएको छ ।
युट्युब विश्वभर सबैभन्दा धेरै हेरिने दोस्रो वेबसाइटमा पर्छ । तर, युट्युबमा कति भिडियो छन्, ती भिडियोमा कति भ्युज छ, कति भिडियो मोनिटाइज्ड छन्, कति लामा छन् जस्तो यकिन तथ्यांक भने छैन ।
यस विषयमा अमेरिकाको भ्यासाचुसेट्स विश्वविद्यालयको डिजिटल पूर्वाधार पहलका निर्देशक इथान जुकरम्यानको टिमले अध्ययन गरेको छ ।
उनीहरूले रेन्डम युट्युब सिलेक्ट गर्ने कम्प्युटर प्रोग्राम बनाएर युट्युबका भिडियोमाथि अध्ययन गरेका छन् । लगभग सबैजसो युट्युब भिडियोको यूआरएल अन्तमा रहेको ११ अंकको अंक र अक्षर मिलेर बनेको आइडेन्टिफायरले छुट्टाएको हुन्छ । उक्त प्रोगामले सोही ११ संख्याको रेन्डम आइडेन्टिफायरका आधारमा भिडियो छानेर अध्ययन गरिएको हो ।
यसरी युट्युबमा ११.६ क्विन्टिलियन अनुमानित यूआरएल संख्या छ । त्यसैले अध्ययनका क्रममा एक भिडियो पाउन कम्प्युटर प्रोग्रामले अर्ब यूआरएल जाँच गरेको थियो ।
यसरी सुरुआती चरणमा अध्ययनका लागि १० हजार १६ भिडियो संकलन गर्न उक्त स्क्र्यापर कम्प्युटर प्रोग्रामले १८ ट्रिलियन सम्भावित भिडियोको यूआरएलहरू जाँच गरेको थियो । यो अध्ययन ती भिडियोमा आधारित छ ।
युट्युब एप प्रायेगकर्ताले औसतमा मासिक २९ घण्टा भिडियो हेर्ने तथ्यांक छ । युट्युबका प्रयोगकर्ता २.९ अर्ब छन् । यसरी सम्पूर्ण प्रयोगकर्ताले मासिक ८३ लाख वर्ष अवधि बराबरको भिडियो हेर्छन् । १२ महिनामा यो झन्डै १० करोड वर्ष अवधि बराबर पुग्छ । यसरी युट्युब प्रयोगकर्ताहरूले मानवसभ्यताको इतिहासभन्दा लामो अवधिबराबरको समय युट्युब भिडियोमा बिताइरहेका छन् ।
युट्युबमा कति भिडियो अपलोड हुन्छन्, कति हेरिन्छन् जस्ता यकिन तथ्यांक पाउन कठिन छ । गुगलले आफैँले पनि यो यकिन तथ्यांक सार्वजनिक गर्दैन ।
सन् २००६ मा सुरुमा युट्युब किनेका बेला गुगलले दैनिक ६५ हजार भिडियो अपलोड हुने गरेको बताउँथ्यो । हाल प्रतिमिनेट ५०० घण्टाको भिडियो अपलोड हुने गरेको गुगल बताउँछ । तर, जुकरम्यानको टिमको विश्लेषणले सन् २०२४ को मध्यसम्म युट्युबमा १४.८ अर्ब भिडियो अपलोड भएको देखाएको छ ।
प्रमुख युट्युबरहरूले युट्युबबाट करोडौँ डलर समेत कमाइरहेका बेला उक्त अध्ययनले ०.२१ प्रतिशत भिडियोमा मात्रै मोनिटाइजेसन वा कुनै किसिमको विज्ञापन रहेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्