समाचार

ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु 



काठमाडौँ, १४ फागुन । धादिङको गल्छि गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । आज  बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 
    
दुर्घटनामा गजुरी ६ बस्ने १९ वर्षका सिरिश चेपाङ र १७ वर्षीय सुरेस चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 

ट्याङकर चालक गजुरी ६ बस्ने २३ वर्षका दिनेश चेपाङलाई नियन्त्रणमा लिइएको छ ।