अर्थ

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र



काठमाडौँ, १५ फागुन । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । 

अर्थ मन्त्रालयका अनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजश्व समेत प्रभावकारी रूपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हाराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरूले तीव्र पारेका छन् । 

सरकारले यो आर्थिक वर्षका १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । यसलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि समीक्षामार्फत करिब २ खर्बले घटाएका थिए । चालु बजेट अहिलेसम्म ७ खर्ब ९० अर्ब मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।  

अहिले बजेट घाटा १ खर्ब २२ अर्ब माथि पुगेको छ । सरकारले ७ खर्ब ९० खर्च गर्दा फागुन १३ गतेसम्म जम्मा ६ खर्ब ६८ अर्ब आम्दानी गरेको छ ।