काठमाडौँ, २२ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनुभएको छ ।
आव २०८२/८३ को बजेट निर्माणका लागि बुधबारदेखि सुरु भएको मन्त्रालयगत छलफलका क्रममा यर्थाथपरक बजेट आउँदा बिच बिचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने पनि उहाँको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायसँग परामर्श गरेको छ । मन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार रहेकाले सङ्घीयता र सङ्घ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिनुभएको छ । मन्त्रालय र विभिन्न निकायबिचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।
विपत्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबिच तादाम्यता मिलाएर आगामी आवको बजेट बनाउने बताउनुभएको छ ।
अर्थमन्त्री पौडेलले कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनालाई स्थगन गर्दै कार्यान्वयनयोग्य योजना मात्र समावेश गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभएको छ । त्यसै गरी साना योजनालाई रोकी क्रमागत योजनाको सङ्ख्या घटाउन पनि सुझाव दिनुभएको छ । पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश गर्नुपर्ने अर्थमन्त्रीको भनाइ छ । उहाँले बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरू प्रस्ताव गर्न पनि सुझाव दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्