काठमाडौँ, २७ फागुन । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब रुपैयाँ हाराहारी मौज्दात देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा सात खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये चालु खर्च पाँच खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने छ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व ७७ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।
यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गएको माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा तीन खर्ब ५० अर्ब सात करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीन वटै तहका सरकारको खातामा रहेको रकम हो ।
यस्तै चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६ दशमलव ५९ प्रतिशत र ३ दशमलव ९८ प्रतिशत रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्