राजनीति

सरकारको शासकीय शैलीका कारण राजावादी सक्रिय भए : अध्यक्ष प्रचण्ड



काठमाडौँ, २७ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् ।

आज प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले राजावादीहरू सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका हुन् । व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलसमेत मिसिएको दाहालको भनाइ छ । पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुनेसमेत दाहालले चेतावनी दिए । वर्तमान सरकार र सत्तारुढ दलहरूले संख्याको अहंकारमा सत्ताको दुरुपयोग गरिरहेको अध्यक्ष दाहालको आरोप छ । उनले सरकारले प्रतिपक्ष र जनतालाई महत्त्व नदिएकै कारणले जनता सडकमा ओर्लिने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर यस खालका चलखेल आजमात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए ।’ 

अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् । दुई तिहाइको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ ।