राजनीति

जनतालाई विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गर्छौ: मन्त्री खड्का



संखुवासभा, २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखामुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर दुईदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताएका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वाधिक अधिकार सम्पन्न भएको बताए । संघीयतासहितको गणतन्त्रको विकल्पमा नभएको बताएका छन् । जनतालाई यो व्यवस्थामा जति अधिकार अन्य कुनै शासन व्यवस्थामा प्राप्त नहुने उनको भनाइ छ ।

व्यवस्था राम्रो आए पनि सरकार स्थिर बन्न नसक्दा मुलुकले अपेक्षाकृत विकासको गति समाउन नसकेपछि संसद्का दुई ठूला दल मिलेर सरकार बनाउनु परेको उनले दावी गरे ।

‘यो सरकारको लक्ष्य नै स्थिरता, समृद्धि र विकास हो । त्यसैले सरकारलाई अल्मलिएर बस्ने छुट छैन,’ मन्त्री खड्काले भने, ‘संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले मुलुकमा स्थिरता आएको छ । अब विकासको गति पनि तीब्र रूपमा अगाडि बढाउनुपर्छ ।’