अर्थ

दुई सय ३६ ह्याचरी उद्योग बन्द



चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् ।

कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ । 

एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले रु ३० लाख उत्पादन हुने गरेको उनले जानकारी दिए । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ । पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५ देखि ६० सम्म पर्न जान्छ । लेयर्सको मूल्य रु एक सय २० देखि एक सय २५ पर्छ ।
 
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् । लामो समयपछि अहिले ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० देखि ७५ मा बिक्री हुने गरेको छ । लेयर्स चल्ला रु एक सय ३० देखि एक सय ५० मा बिक्री हुँदै आएको छ ।