काठमाडौँ, ५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ ।
मन्त्रालयले यो चैत महिनाभर १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने छ ।
मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आईभीआर’ सेवा थाल्ने, शय्या विस्तारलगायत छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो हप्ता काठमाण्डौ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ ।
वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर ‘डिजिटल’ नतिजा दिने तयारी छ । त्यसैगरी भरतपुर अस्पतालमा क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गरिने भएको छ । तालिकाअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्यूरोलोजी सेवामा ‘इलेक्ट्रोमाइलोग्राफी’ तथा ‘एनसीभी’ परीक्षण थप हुनेछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी क्षमता विस्तार गर्ने योजना छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो हप्ताभित्र आरम्भ गर्ने र कान्ति बाल अस्पतालले बालबालिकाका लागि ‘हेमोडायलाइसिस’ सेवा चैत तेस्रो हप्ताभित्र आरम्भ गर्ने तालिकामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्