राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ६ चैत । मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक भएको छ । 

चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन्  । 

–नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिसमक्ष पेस गर्ने । 

–विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने । 

–ऋण असुली न्यायाधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौँलाई नियुक्त गर्ने ।  

–नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षकका दीपक थापालाई नियुक्त गर्ने । 

–विक्रम संवत् २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने ।  

–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गर्ने । 

–२०८१ साल चैत ४ गतेदेखि ६ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने राइसिना डायलगको दसौँ संस्करणमा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 

–नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलान्चोक जिल्ला साविक मेथिनकोट गाविस वडा नं.६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गाविस वडा नं. ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेवेशी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने । 

–नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने । 

–यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने ।