समाचार

नयाँ वर्षको अवसरमा चौँरी महोत्सव हुने



काठमाडौँ, २१ चैत । नयाँ वर्ष २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुने भएको छ ।

विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् । 

महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनाका साथै चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिए । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको गजेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।