झापा, ९ वैशाख । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।
लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनी बताउछन् । “लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्छन्, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।”
वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । कनकाई नगरपालिकाको एकल रु ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको रु पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको हो ।










प्रतिक्रिया दिनुहोस्