राजनीति

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यक : ईश्वर पोखरेल



काठमाडौँ, १३ बैशाख । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

ललितपुरमा मनमोहन अधिकारीको २६ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

आज उनले एकातिर दक्षिण-पूर्व-पश्चिम १८ सय किलोमिटर सीमा जोडिएको छिमेकी भारत र अर्कोतिर उत्तरमा १४ सय किलोमिटर सीमाना जोडिएको चीन रहेको बताए । चीनसँगको सीमाना हिमालले पर्खाल सरह काम गरेको भएपनि भारतसँग खुला सीमाना रहेको उनले बताए ।

भारतसँग विगतमा भएका सन्धी, सम्झौतहरु अद्यावधि हुन नसकेको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालले आफूलाई राष्ट्रिय स्वाधिनता, स्वाभिमानका लागि, अखण्डताको लागि कतिपय कुरामा गम्भीरताका साथ सोच्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

एमालेले आफ्ना अठोट, संकल्प, उद्देश्यमा समर्पित भएर लागि रहनुपर्ने जरुरी रहेको बताउँदै उनले नेपालको राजनीतिमा अनेक ढंगले समस्याहरु छन् भन्ने हिसावले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने कोशिस भइरहेको बताए ।

उनले भने, ‘नेपालको पोलिटिक्समा अनेक ढंगले समस्या छन् भन्ने हिसावले चित्रण गर्ने, नेकपा एमालेलाई कमजोर देखाउने यस हिसाबले एउटा कोशिस भइरहेको छ । तर नेकपा एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, अफ्ठ्याराहरुसँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा, स्वाधिनताको पक्षमा, मुलुकलाई समृद्ध बनाउने कुराको पक्षमा, जनताको हक हितको पक्षमा दृढतापूर्वक उभिँदै आयो । हिजो सत्तामा नभएको बेलामा, प्रतिकूल अवस्थामा होस् वा सत्तामा पुगेको बेलामा होस् । उसले यो मान्यताबाट आफूलाई कहिल्यै विचलित गराएन ।’