अर्थ

सांसद राई पक्राउ परेकोबारे प्रहरीले सभामुखलाई दियो जानकारी



काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ गरिएकोबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

शनिबार सांसद राईलाई पक्राउ गरेको प्रहरीले बेलुका नै सभामुख घिमिरेलाई त्यसबारे जानकारी गराएको हो । काठमाडौँ प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांसद राई पक्राउ परेकाबारे जानकारी दिँदै सभामुख घिमिरेलाई पत्राचार गरेका छन् । राईलाई सुमन खनाल समेतको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेसकी केन्द्रीय सदस्य राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् । राई समानुपातिक सांसद हुन् ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।