काठमाडौँ, १७ वैशाख । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ ।
हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेँसी झार्ने चलन रहेको बताउनुभयो । “बेशीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता/दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उनले भने,“पाँच हजार मिटर उचाईको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ ।”
छन्त्यालसहित तीन वटा गाईभैँसीको गोठ गुर्जाको लाछाबाङदेखि बुकीमा लैजान लत्रबाङको खर्कमा घुम्ती गोठमा राखिएका छन् ।
गोठालाले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ ।










प्रतिक्रिया दिनुहोस्