राजनीति

पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ : सभापति देउवा



काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले ट्रेड युनियन ऐन, श्रम ऐन, सामाजिक सुरक्षा कोषलगायतलाई अगाडि बढाउन सदैव महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन् ।

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले हाल पनि नेपालका श्रमजीवीले अनेक समस्या बेहोरिरहनु परेकाले त्यसलाई समाधान गरिनुपर्नेमा जोड दिए ।

सभपति देउवाले श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यो ऐतिहासिक दिनले सबैमा नयाँ ऊर्जा र उत्साह भर्ने विश्वास लिँदै श्रमिकहरूको सुख, शान्ति र समृद्धिका लागि  शुभ–कामना व्यक्त गरेका छन् । 

“श्रमजीवी वर्गको समस्यालाई समाधान गरेर हकहितको संरक्षण र सम्वर्द्धन गर्न तथा कार्य वातावरण, सामाजिक सुरक्षा, उचित ज्याला एवं पारिश्रमिक तथा पेसागत मर्यादा र सम्मानका लागि कांग्रेस क्रियाशील छ । यी समस्या समाधानमा सबै लाग्नुपर्छ”, सन्देशमा उल्लेख गरिएको छ ।