समाचार

आज रामानुजाचार्य जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ, १९ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने जगद्गुरू रामानुजाचार्य जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुन् । उनी श्रीवैष्णव थिए ।  उनको भक्ति परम्परामा धेरै प्रभाव रहेको छ ।

वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए । तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्त्वपूर्ण शिष्य थिए । रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टाद्वैत वेदान्त लेखेका थिए । 

सन् १०१७ मा दक्षिण भारतको तमिलनाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरूकुदुरू भन्ने गाउँमा उनको जन्म भएको थियो । उनी  विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्मअन्तर्गत श्रीसम्प्रदायका आचार्य थिए । त्यसबेला जैन धर्म र बौद्ध धर्मको प्रचारका कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा थियो । रामानुजले त्यसको सफलतापूर्वक प्रतिकार गरे ।