राजनीति

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं: राजदूत बास



काठमाडौँ, २ जेठ ।  नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ आयोजित स्वागत समारोहमा उनले पीडितका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आतङ्कवादी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली मारिएका थिए । उक्त हमलामा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरुका परिवारलाई निरन्तर सहयोग हुने बताए ।

“इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ, त्यो निरन्तर रहने छ ।  नेपालीसहित हमासको आक्रमणबाट पीडित भएका सबैहरूसँग ऐक्यबद्धताका साथ इजरायल उभिएको छ”, उनले भने । 

इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहोर्याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो मुलुकको एकमात्र लक्ष्य रहेको बताए । बहुआयमिक नेपाल –इजरायल सम्बन्धबारे चर्चा गर्दै उनले नेपालको  शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षालगायत क्षेत्रमा पारस्परिक सहकार्य हुँदै आएको बताए ।