समाचार

आजको मौसम



काठमाडौँ, १५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।