अर्थ

१८ संस्थानको मात्र नियमित लेखा परीक्षण



काठमाडौँ, १८ जेठ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार कम्पनी ऐनबमोजिम स्थापना भएका ३४ वटा संस्थानमध्ये १८ संस्थानले नियमित लेखा परीक्षण गराएका छन् । समीक्षा अनुसार १६ वटा संस्थानले नियमित लेखा परीक्षण गराएका छैनन् । 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म लेखा परीक्षण गराउनेमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, धौबादी फलाम कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड रहेका छन् ।

यस्तै नियमित लेखा परीक्षण गराउनेमा कृषि सामग्री कम्पनी लिमिटेड, नेपाल आयल निगम, कृषि विकास बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड, नेपाल स्टक एक्सचेन्स लिमिटेड र नागरिक लगानी कोष रहेका छन् । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल बैङ्क लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सांस्कृतिक संस्थान, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र साझा यातायातले पनि  नियमित गरेको उल्लेख छ ।

उदयपुर सिमेन्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र संस्थानले भने आ.व २०७८/७९ सम्म र नेपाल रेलवे कम्पनी लिमिटेडले आव २०७७/७८ सम्मको लेखा परीक्षण गराएका छन् । यस्तै जनकपुर चुरोट कारखाना र राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आव २०७६/७७ सम्मको लेखा परीक्षण गराएका छन् । विशाल बजार कम्पनी लिमिटेडले आव २०७५/७६ सम्म लेखा परीक्षण गराएको छ । राष्ट्रिय जीवन बिमा कम्पनीले २०७३/७४ सम्मको मात्र लेखा परीक्षण गराएको छ । यस्तै नेपाल ओरियन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेडले भने आव २०६४/६५ देखि लेखा परीक्षण नगराएको संस्थानको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।