अर्थ

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित



चितवन, २३ जेठ । चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् ।

सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् ।

खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धान खेती नगर्ने निर्णयमा छन् । समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उनले बताए ।

राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निराश छन् । जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिए । 

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धान खेती हुने गरेको छ । चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धान खेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।