राजनीति

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्न आदेश, ३२ जना धरौटीमा छुटे



काठमाडौँ, ३० जेठ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार ढिला गरी ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि नै धरौटी माग गरेर छाडिएको थियो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपा महामन्त्री एवम् सांसद धवल शमशेर राणा लगायत हाजिरी जमानीमा छुटेका ११ जना अहिले सम्पर्कमा छैनन् । अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । यस अघि नै प्रहरीले हाजिरी जमानीमा छुटाउनेलाई कानुनी रूपमा कारबाही प्रक्रिया समेत अघि बढाएको छ । धरौटीमा छुट्न आदेश पाएकाहरूलाई १० हजार देखि १ लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ ।

दुर्गा प्रसाईंसमेत ५० जनालाई प्रतिवादी बनाएर राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो ।

तीन कुनेको प्रदर्शन हिंसात्मक हुँदा अभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो भने २० जना प्रहरीको गोली लागेर घाइते भएका थिए । गोली लागेका कोही पनि प्रदर्शनकारी थिएनन् । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनी भएको प्रहरीको तथ्यांकमा छ ।