राजनीति

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौँ, ११ असार । सत्तारूढ नेकपा (एमाले)ले  विधान महाधिवेशनका लागि सचिवालय बैठक बोलाएको छ ।

एमालेको ५३ औं सचिवालय बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो । बुधबार बस्ने बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ । चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस बाक्लिएको छ । त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ। एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान राखिएको थियो ।