काभ्रे, १३ असार । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित गोरखा चाइनिज इँटाभट्टामा कार्यरत एक श्रमिकको छानाबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोल्पाको माडी गाउँपालिका वडा नं ६ घर भई हाल सो इँटाभट्टामा कार्यरत ४२ वर्षीय अमृत घर्तीमगरको छानाबाट खसेर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको हो ।
बिहीबार साँझ करिब ६:२५ बजे जस्ताको छानोबाट पानी चुहिन थालेपछि त्यसमा प्लास्टिक ओढाउने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए । उनलाई इँटाभट्टाका म्यानेजर अनिल दुवालले उपचारका लागि शिर मेमोरियल अस्पताल लगेको र उपचारकै क्रममा करिब ७:१० बजे चिकित्सकले मृत घोषणा गरेको हो । मृतकका आफन्तलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्