समाचार

प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस मनाइयो



काठमाडौँ, १५ असार । “अवरोध हटाउँदै, सम्बन्ध जोड्दै ”भन्ने नारासहित राजधानीमा विविध सचेतनामुलक कार्यक्रमसहित प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस मनाइएको छ ।

अपाङ्गता भएका व्यक्तिको वर्गिकरण अन्तरगत कान सुन्न नसक्ने र आँखा पनि देख्न नसक्ने वर्गलाई लक्ष्यित गर्दै जुन २७ गतेका दिनलाई संयुक्त राष्ट्रसङ्घले यस वर्ष मात्र घोषणा गरेको बहिरा दृष्टिविहीन अन्तरर्राष्ट्रिय दिवस शुक्रवार राजधानीमा मनाइएको हो । बहिरा दृष्टिविहीन अभिभावक समाज, नेपाल नेत्रहीन सङ्घ र राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा संयुक्त रुपमा आयोजित प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको अवसरमा विभिन्न सन्देशमुलक प्लेकार्डसहित रानीपोखरी, दरवार स्कुल, जमल, घण्टाघर हुँदै शान्तिवाटिकाको परिक्रमा गरिएको हो ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले प्रथम अन्तरर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको सान्दर्भिकताबारे बोल्दै संयुक्त राष्ट्रसङ्घले १३ दिन अगाडि मात्र घोषणा गरेको यस दिवसको नेपालले सह–प्रस्तावकको भूमिका निर्वाह गरेको र कान नसुन्ने र आँखा पनि नदेख्ने अपाङ्गता भएका व्यक्तिको हक हितबारे चर्चा गर्न र शिक्षा, स्वास्थ्यलगायत विविध अधिकारको प्रत्याभूतिका लागि बहस गर्ने वातावरण मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँचको सुनिस्चीत गर्न सक्दो नीतिगत पहलसहित व्यवहारमै लागु गर्न कोशिस गरिरहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका महासचिव सुगम भट्टराईले कोही पनि पछि नपरुन् भन्ने लक्ष्यका साथ सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, रोजगारी, हिडडुल गर्ने हकका लागि समावेशी अधिकार पाउन दिवसले प्रेरित गर्न र एकजुट हुन पनि सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय बहिरा महासङ्घ नेपालका महासचिव सिताराम ओझाले राष्ट्रिय बहिरा महासङ्घ नेपालले पनि सन् २०१५ देखि बहिरा अपाङ्गता भएका व्यक्तिहरूका साथै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, पुनस्र्थापना लगायतका क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो ।

नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको दिवसका विषयमा जानकारी गराउँदै सन् २०२५ को जुन २७ लाई संयुक्त राष्ट्रसङ्घको महासभाले अन्तरर्राष्ट्रिय दिवसको रुपमा मान्यता दिएर अपाङ्गता भएका व्यक्तिका बारेमा सचेतना फैलाउन थप सहयोग पुग्ने बताउदै शुभकामना व्यक्त गर्नुभयो । बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले संयुक्त राष्ट्रसङ्घको महासभाले १६ जुन २०२५ अर्थात् विसं.स.२०८२ को असार १ गतेका दिन जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको रूपमा मनाउने घोषणा गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँ विगत लामो समयदेखि एकै व्यक्तिमा आँखा नसुन्ने र कान पनि नसुन्ने समस्या भएका अपाङ्गता भएका व्यक्ति, बालबालिकालाई शिक्षा, तालिम र दिवा सेवाको पहुँच पु¥याउने अभियानमा संलग्न हुनुहुन्छ ।

समाजका अध्यक्ष शेर्पाले श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाबाट वञ्चित रहेको र यस पटक नेपालमा उहाँहरुलाई लक्ष्यीत गरी पाँचवटा श्रोत कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले वि.स.२०७८ को राष्ट्रिय जनगणना अनुसार श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या १० हजार एकसय ८७ छन् तर समाजको सम्पर्कमा हाल दुईसय जना मात्रै रहेकोले बाँकीलाई कसरी राखेका होलान् भन्ने प्रश्न पनि उठाउनुभयो । श्रवण दृष्टिविहीनले सुँघेर, छामेर आफ्ना आफन्त र वरिपरीका वातावरणलाई बुझ्ने कोसिस गर्ने हुनाले व्यहारीक ज्ञान दिन समय लाग्ने भएपनि निरन्तरको सिकाईले सिक्न सक्ने समाजले जनाएको छ ।